Wednesday, September 9, 2015

सन्दर्भ बालदिवस


मेरो सपना :

एकदिन घरबाट र्फकदै गर्दा म स्कूलबाट घर पुग्नै लाग्दा आमाले मलाई भन्नुभयो बुबा विरामी हुनुभयो । बुवालाई अस्पताल लिएर जाउ। आमाले यसो भन्दा म छाँगाबाट खसे जस्तै भएँ । “के भयो र बुवालाई ?” मेरो प्रश्न पूरा नहुँदै बुबा बाहिर आउनुभयो “छोरी तिमी घर हेर, म र आमा अस्पताल जान्छौं । मलाई ज्वरो आएको छ ।” त्यसबेला हामीले घर बनाउन थालेको करीब तीन महिना भएको थियो । काम गर्ने मिस्त्रीहरुले समयमा काम नगर्दा ढिलाई भएको थियो । ट्वाइलेट बाथरुम बनाउन मिस्त्रीकाम गर्दै थिए । मैले हस् भनेँ अरु केही बोल्न सकिन । मलाई बुबालाई के भयो होला भन्ने डर लाग्यो । खै किन हो कुन्नि । पहिले पहिले पनि बुबा बिरामी हुनुहुन्थ्यो । त्यतिबेला डर लाग्दैनथ्यो । म बुबालाई लिएरडा. भट्टको मेडिकल हलमा जान्थेँ । बुबालाई जँचाएर डाक्टरले दिएको औषधी लिएर फर्कन्थेँ । बुबाको खानपान र औषधीमा पूरै ख्याल गरी समयमा खुवाउँथे । तर त्यस पाली म कक्षा ९ मा पढ्दै थिएँ । भर्खर १४ वर्ष टेकेकी थिएँ । अस्पताल भर्ना गर्ने बित्तिकै बुबा अचेत हुनुभयो । उहाँलाई मधुमेह र उच्च रक्तचाप थियो । अलिपछि एक दिन होसमा आएर उहाँले हातले रोटी खान्छु भन्ने इशारा गर्नुभयो । बुबालाई मैले बनाएको रोटी असाध्यै मन पर्ने भएकोले म रोटी र सादा दाल बनाएर अस्पताल गएँ । मलाई देखेपछि बुबा जुरुक्क उठ्न कोशिस गर्नु भयो, नसकेपछि उहाँ असाध्यै रुनुभयो । आवाज त निकाल्नु भएन । आँशुका धारा मात्र बगे । म पनि रोएर बाहिर निस्किएँ । त्यो हामी बाबुछोरीको अन्तिम भेट हुन गयो । अस्पताल भर्ना भएको ६ दिनपछि उहाँले हामीलाई सदाका लागि छोडेर जानुभयो । बुवा स्वास्थ्य स्थितिका कारण हामीलाई अस्पताल बस्न भन्दा घरमै बस्न सुझाब दिएर (ठुलीआमाको छोरा) दाजुले मैले अंकललाई कुरेर बस्छु भनेकोले घर फर्केका थियो । हामीले अन्तिम घडीमा उहाँलाई पानी पनि खुवाउन पाएनौं । बुबाको जागिर र घरमा रहेको सानो किराना पसल सिवाय हाम्रो अरु साहारा थिएन । मेरो घर परिवारको दैनिक गुजारा चलाउन र बहिनीलाई पढाउन जरुरी ठानेर मैले नपढ्ने विचार गरें । आमा र मामालाई स्कूल जान्नँ, जागिर गर्छु भनें । उहाँहरुले पढाइ छाड्न दिनुभएन । तर पनि मैले पढाइमा ध्यान दिन सकिनँ । त्यसपछि त मैले जागिर गर्छु भनेर आमालाई जिद्दी गरेँ । उहाँले मेरो कुरालाई टार्न सक्नु भएन । उहाँले मेरो कुरालाई टार्न सक्नु भएन । अन्ततः जागिर खाने तयारी गरेँ । तर जागिर खान मेरो उमेर पुगेको थिएन । नागरिकताको प्रमाणपत्र बनाउने उमेर पनि भएको थिएन । त्यसैले जागिर खान्छु भन्ने बित्तिकै जागिर कहाँ पाइन्थ्यो र ? मैले पढेको विद्यालयबाट सिफारीस लिएर नागरिकता बनाए पश्चात सोही समयमा केही कार्यालयहरुमा कर्मचारी चाहिएको रहेछ म पनि संयोगले जागिरमा लागें । त्यस पछि मैले पढ्ने कुरा बन्द गरेँ । बहिनी र आमाको खुशीमा मात्र ध्यान दिएँ । समयसँगसगै पारिवारिक जिम्मेवारीमा रुमल्लिएकी थिएँ । बहिनीले पनि एस.एल.सी सकाएर आफ्नो पढाईलाई उच्च शिक्षातिर बढ्दै थिइन । समय धेरै वितेको पत्तै पाएको थिइन मैले, ०६२÷०६३ सालको जनआन्दोलन पश्चात राष्ट्रसेवक कर्मचारीहरुका लागि शैक्षिक योग्यताको आधार बढुवा गर्ने प्रावधान यसैमा एक दिन सहकर्मी साथीहरुले बढुवाको लागि निवेदन दिएका रहेछन् । त्यसमा मेरो नाम हस्ताक्षर नभएकोले केही साथीले खै तिमी बढुवा हुने चाहना छैन ? मलाई एकजना दाजुले भने पछि थाहा पाएँ । तत्कालिन समयमा सेन्टअप उत्तीर्ण भएकाहरुका लागि मुखियामा जागिर खाने समय थियो । त्यसपछि निवेदन दिने साथीलाई भेट गर्न गएँ । जसलाई खोज्न गएकी थिएँ उनले मलाई होच्याएर कुरा गरेको सुनेँ । मैले त्यो कुरा धेरै सुन्न सकिन त्यहाँबाट म आफ्नो कार्यकक्षमा पुगेँ मलाई अति नै पिडा भयो । मैले बुबालाई संझेर धेरै बेर रोए । त्यसपछि सोँचे मेरो बारेमा कुरा गर्ने मान्छे पटक–पटक फेल हुँदा पनि पास हुन नसकेर अन्य क्षेत्रमा गई पास गर्न सफल भए भने म के पास हुन सक्दिन र ? त्यसपछि मैले प्राइभेट परीक्षा विचार गरेर पढ्न थालेँ । 

जुन समयमा पढ्न शुरुवात गरे समय व्यवस्थापन गर्न निकै कठिन थियो । पहिलेको जस्तो थिएन विषय वस्तुहरु परिमार्जन भएका थिए । विषय उही थिए तर पढ्न निकै कथिन हुने गर्दथ्यो । त्यो समयमा मलाई सबै भन्दा सजिलो नेपाली र अंग्रेजी र निकै अप्ठ्यारो विषय गणित बन्यो । विहान ६ बजे कोचिङ्ग सेन्टर पुग्नु पर्ने पढाई १० बजे सम्म हुने । कार्यालयमा १० बजे हाजिर हुन पर्ने, खाना खाने समय नै हुदैनथ्यो । कोचिङ्ग सेन्टरमा हामीले अनुरोध गरेर हामीलाई ९.४५ मा विदा दिने व्यवस्था गरियो । यो समय खाना खान घर जाने कि कार्यालयमा हाजिर हुने तै पनि हामीले कार्यालयलाई प्राथमिकता दियौं । कार्यालयमा १० बजे हाजिर भएर विचमा सहकर्मी साथीसँग समन्वय गरी होटलमा खाना खाने गर्दथ्यो । विहान करिब ३ बजे उठेर पढ्न बस्थे त्यसपछि ६ बजे कोचिङ्ग सेन्टर पुग्ने । साँझ घर पुग्दा ६ बजिसकेको हुन्थ्यो । एक छिन परिवार सँग बस्यो खाना खायो अनि फेरि पढ्न बस्दा रातिको १२/ १२.३० बज्थ्यो । नजानेका प्रश्नहरु छुट्टयाएर राख्ने अर्को दिन फेरि शिक्षकहरुलाई सोध्ने गर्दथे । विदाको दिन हामी सबै साथीहरु एक ठाउँ जम्मा भएर पढ्ने गर्दथ्यौं । त्यति मात्र कहाँ हो र हामीले पढ्न लागेको थाहा पाएर हौसला दिने र पढ्न सिकाउनेहरुको कमि थिएन । त्यो समय लाग्दथ्यो हामी साना स्कुले विद्यार्थी हो । सेन्टअप परीक्षा दिन जाँदाको अनुभव आजै जस्तो लाग्छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिन हामी पाल्पा जिल्लाको जेभिटी कलेजमा सेन्टर परेकाले जिल्ला भरिका प्राइभेट परीक्षार्थी सबै त्यहि जाँदै थियौं । त्यस मध्ये दुइ जना दिदी र म छुट्टै कोठा लिएर बसेका थियौं । स्कुलको पछाडीको घर जहाँ घण्टी बजेको सुनिन्थ्यो । हामी पनि परीक्षा दिन पहिलो दिन जाँदै थियौं । हामी ३ जना सँगै थियौं । त्यहाँका साना नानीले दिदीहरुलाई हेरेर आम्मै नि हाम्रो ममि जस्तै परीक्षा दिन आएको मात्र भनेका थिए । त्यसपछि दिदीहरु बाहिर निस्कन अप्ठयारो मान्नु भयो । बाहिर केहि लिन जानु प¥यो भने म नै जानु पर्ने भयो । समयको सदुपयोग गर्न पर्ने हुदा खाना पनि छिटो होस् भनेर भात पकायो अनि गुन्द्रुक र सिन्की उमाल्ने । प्राय जसो  गुन्द्रुक र सिन्की खादा खादा दिक्क लाग्थ्यो  । त्यस पछी हामीले  गुन्द्रुक र सिन्की त कहिले नखाने भयौ । यो पढाईको शिलशिलामा दिदीहरु अति नै चिन्ता गर्नु भएछ दुवै जना धेरै बिरामी हुनु भयो  एक जना दिदि त तीन महिना सम्म बिरामी हुनु भयो । यसरी बिरामी हुनाको कारण दिदि पढाई चिन्ताले खानपिन आराम गर्ने कुरालाई बेवास्ता गर्दा झन्डै मृत्युको मुखमा पुग्नु भएको थियो । पढ्ने त हो तर आफ्नो स्वस्थ को पनि ख्याल गर्नु पर्छ भन्ने बिरामी हुने दिदिबाट थाहा पायौ

हामी ६६ जनाले प्राइभेट परीक्षा दिने तयारी गरेका थियौं यसैमा आन्तरिक परीक्षामा म दोश्रो भएँ । त्यसपछि पढ्ने प्रेरणा आफै जाग्यो । त्यस पछि मैले एस.एल.सी. दिने तयारीमा लागे यसरी लाग्दा मात्र २–३ घण्टा मात्र सुत्ने गर्दथे । यसैको परिणाम मैले मेरा साथीहरुलाई पनि पढ्ने हौसला दिएँ । हामी सबै सफल भयौं । सँगै पास भएका मध्ये आज म मात्र विविएस पढदैछु । त्यस दिन ती मित्रले मलाई होच्याएर भनेको मा जति दुखि बने आज उनलाई यो हृदय देखि धन्यवाद दिएकि छु, सायद उनी मेरो भबिस्य उज्ज्यालो बनाउने मार्ग दर्शक हुन्  आज जागिर खान थालेको १२ वर्ष पार भयो । मेरा बुबा अर्थात् घर परिवारको खुशी र आधार स्तम्भ ढलेको दिन मेरा सारा सपना जलेको देखेकी थिएँ । त्यतिबेला मलाई म फेरि पढ्न पाउँछु जस्तो लागेको थिएन । अहिले पढ्दिन भनेर सोचेको दिन सम्झन्छु । म जस्ता धेरै बालबालिकाले पढ्न पाएका छैनन् । उनीहरुका लागि केही गर्नु पर्छ जस्तो लागेको छ । मैले जस्तो समस्या अरुले भोग्न नपरोस भन्ने लागेको छ । भविष्यमा त्यस्ता बालबालिकालाई उद्धार गर्ने विचार गरेकी छु । पहिलो पटक पिडित बालबालिकाको खोजि गर्दा फर्साटिकर गा . बि . स. वडा न. ८ मा रहेको श्री लुम्बिनी ज्ञान ज्योति नि .मा. बि . का करिब ३०० छात्र छात्राहरु का लागि पानि टंकी करिब ४१००० हजार को लगानीमा एउटा संस्था गठन गरि सहयोग गर्न सफल भएका छौ   महगींले गर्दा सामुदायिक स्कूल पनि जान नपाएका बालबालिका धेरै छन् । उनीहरुका लागि केही गर्ने सपना साँचेकी छु ।

1 comment: