महिला अधिकारका लागि पुरुषले खेलेका महत्वपूर्ण भुमिका :
महिलाहरुले हक र अधिकारका विषयमा विभिन्न क्षेत्रबाट आवाज उठिरहेको र मस्यौदा संविधानका लागि सुझाव संकलन गर्नका लागि जब विभिन्न क्षेत्रमा भेलाहरु भए सो समयमा उठेका आवाजहरुबारे फेसबुकमा धेरै चर्चामा र अखबारको पहिलो हेडलाईन बने पुर्वका महिलाहरुले यदि श्रीमानले दोश्रो विवाह गरेर घरमा श्रीमती ल्याउछन भने महिलाहरुले पनि दोश्रो विवाह गरी दोश्रो श्रीमानलाई पनि सँगै राख्न पाउनु पर्छ भन्ने आवाज उठेका समाचारले मेरो ध्यान केन्द्रित गराएको थियो । यस्तै रातोपाटीडटकम अनलाईन समाचारमा महिलाहरु विवाह गर्न किन डराउँछन भन्ने विषयलाई लिएर समाचार आएको थियो । यी सबै समाचारहरुले मेरो मनमा जिज्ञासा जाग्यो र मैले फेसबुक स्टाटसमा लेखे “जीवन जगत र प्रेममा जसलाई सजाउनु भयो के उहाँले तपाईको भावना आदर्श र प्रेमको सम्मान गरेको पाउनु भएको छ ?” यसमध्ये दुई जनाले पाएका छौं भन्ने जवाफ पाएँ । मेरो प्रश्न मात्र महिला केन्द्रित थियो । तर यसमा पुरुषहरुको जवाफ आए पछि मेरो विचार परिवर्तन भयो । फेरि इतिहास नियाल्न मन लाग्यो । हिजोको ढुंगे युुगबाट आजको कम्प्युटर युग सम्म आईपुग्दा महिलाहरुमा धेरै चेतना जागेको छ र हक अधिकारका बारेमा पैरवी गर्ने स्थानमा पुग्न सफल भएका छौं ।
आज हामी नेपाली नारी चेतनशिल हुनुमा यसको प्रमुख श्रेय पुरुषहरुको नै हो । यदि हिजोका दिनमा जतिबेला छोराछोरी विचको भेदभाव हुने गर्दथ्यो । नेपालमा धनिपरिवारका छोराहरु भारतको वनारसमा गई संस्कृत अध्ययन गरी फर्कन्थे । तर छोरीलाई भने शिक्षा दिनु पर्छ भन्ने सोचको विकास हुन सकेको थिएन । २००७ सालको प्रजातन्त्र पछि छोरीलाई पनि शिक्षा दिनु पर्छ भन्ने आवाजहरु उठे र विकसित शिक्षाको लागि सर्वशुलभ स्थानमा बसोवास गर्ने छोरीले शिक्षा प्राप्त गर्न सफल भए भने पुर्णरुपमा छोरीलाई पढाउनु पर्छ भन्ने चेतना जनमानसमा जागेको अवस्था थिएन । हिजोका दिनमा नारीलाई घरका काममा बढी प्राथमिकता र फुर्सदमा मात्र शिक्षा घर गरेर खानु पर्छ । त्यसैले घरको धन्दा सबै छोरीले सिक्नुपर्छ भनि घरमै सिमित गरेर छोरा भनेको त बाहिर जहाँ गएँ पनि कुनै रोकतोक हुदैनथ्यो भने अहिले पनि यो परम्परा कायमै छ ।
पुरुषका सकारात्मक पक्षहरु ः
हामी सधै भरि पुरुषका कमिकमजोरीमात्र देख्छौं पुरुषका सवल पक्षहरुका बारेमा कहिल्यै बहस गरेको सुन्नमा आएको छैन । ढुुङ्गे युगबाट आजको २१ औं शताब्दी सम्म आइपुग्दा महिलाहरुलाई पुरुषले नै सहयात्री बनाउनका लागि खेलेको भुमिका अहम छ । हिजोका दिनमा घरमा सिमित भएका नारीहरुलाई शिक्षा क्षेत्रमा शिक्षिका, उद्योग व्यवसायको क्षेत्रमा सफल उद्यमी व्यवसायी, राष्ट्रसेवकका रुपमा महिलाले पनि सेवा गर्ने अवसर पाएका छौं । यसरी सहयात्री बनाउने पे्ररणा हौसल्ला हामीले पुरुषबाट पाएका हौं । चाहे त्यो सकारात्मक तवरबाट होस चाहे हामीले भोगेका घरेलु हिंसाका कारण विकल्पका रुपमा अपनायको बाटोबाट होस् आखिर उत्प्रेरक तत्व भनेका पुरुष नै हुन । यति मात्र होइन आज उच्च ओहदामा पुरुष पुग्दा उनीहरुले आफ्नी श्रीमती पनि उत्तिकै सम्मान योग्य बनोस मात्र सुन्दरता होइन । हिजोका दिनमा आफ्नी आमालाई हुने गरेका क्रियाकलापको नतिजा हो । हामी नारी अधिकारका विषयमा जति नै पैरवी गरेता पनि पुरुषहरुले सहयोग नगरेको भए हाम्रा हक बारे माग राख्ने अवस्थामा हुने थिएनौं । बहुदलिय प्रजातन्त्रको आगमन सँगै महिलाहरुले पनि नेतृत्व लिन अवसर पाएका थियौं । आफ्ना हक अधिकारकाबारे अध्ययन गरि आम महिलाहरुलाई उनीहरुका हक अधिकारका लागि आवाज उठाउन सक्षम भएका छौं । हालै बनेको मस्यौदा संविधानमा पनि पुरुषहरु स्वयंले बलत्कारीलाई फाँसीको दण्ड सजाय राख्नु पर्ने माग राखेको सुनेका छौं । त्यसैले हामी पुरुषका सकारात्मक कार्यहरुको सह«ाना गरी प्रोत्साहन दिन जरुरी छ । त्यतिमात्र होइन महिलालाई एनजिओ÷आईएनजिओमा विभिन्न खालका कार्यक्रमहरु बनाई उनीहरुका कार्यक्रम सफल बनाउन पनि उनीहरुले महत्वपूर्ण भूमिका खेलेका छन । पहिलेका पुरुषहरुले जस्तो महिलाले मात्र घरको काम गर्नु पर्छ भन्ने धारणा गलत हो भनेर महिलाले गर्ने घरेलुकाम देखि बाहिर सम्मका हरेककाममा होस्टेमा हैसे गर्ने पुरुषको संख्या बढ्दो छ । सामाजिक कुरिती र कुसंस्कारलाई पुरुषहरुले नै निरुत्साही गर्ने गरेको पाइन्छ । आजभोलि विवाहकै प्रसङ्ग आयो भने पनि पहिलो प्राथमिकता भनेको शैक्षिक योग्यता, त्यसपछि कार्यक्षमता, त्यसपछि मात्र अन्यकुराहरुमा ध्यान दिने गरिन्छ । पुरुषले कुनै न कुनै स्थानमा महिलालाई अवसर पाउने ठाउँमा सहयोग गरी रोजगारको अवसर दिलाएका पनि छन् । कहिं कहिं त महिलालाई विवाह पश्चात शिक्षित बनाएर उच्च तह सम्म जागिर तथा प्राध्यापन क्षेत्रमा सफल बन्नुमा पुरुषहरुको ठूलो भुमिका खेलेको पाइन्छ । महिलाका प्रजनन् स्वास्थ्य देखि लिएर हरेक कुरा प्रति सचेत हुने पुरुषको संख्या पनि बढ्दो छ। तीजमा गरिने व्रतको प्रसंगमा पनि उनीहरुको सहमती हुदैनन् । तीजको अघिल्लो दिनमा खाएको आहार विहारले तीजको दिनमा निराहार ब्रत गर्दा स्वास्थ्यमा गंभीर समस्या आउने हुँदा व्रत बसेर भन्दा पनि रमाइलो गरुन भन्ने धारणा पुरुषको हुन्छ । तीजको दिनमा व्रत नबसेकैकारण मेरो आयु कम हुने भयो भनेर महिलामाथि हिंसा गरेका घटना अहिले सम्म सुन्नमा आएको छैन ।
पुरुषका कमजोर पक्षः
मानवमा पुर्णरुपमा सवल पक्षमात्र हुन्छ भन्ने हुँदैन तर पनि कमजोर पक्षहरु पनि उत्तिकै हुन्छन । कमजोर पक्ष सकेसम्म देखाउन महिला वा पुरुष दुबैले चाहेका हुँदैनन् । सबै आ–आफ्ना ठाउँमा सवल छु जस्तो लाग्छ । तर पनि आफ्ना कमिकमजोरी चाहेर वा नचाहेर बाहिर आउने गरेको पाइन्छ । विशेष गरी सामाजिक परम्परालाई प्राथमिकता दिने बंश चलाउनका लागि छोरा नै जन्माउनु पर्ने भनेर धेरै सन्तान जन्माउृने, छोराका चाहनामा गर्भपतन गराउने, छोरा नजन्मेको कारण देखाई दोश्रो विवाह गर्ने, खुला विचार गर्नु पर्छ भन्ने घरमा भन्दा बाहिर मनोरन्जनमा खर्च गर्ने, घर व्यवहारका लागि सिमित खर्च दिने । यति मात्र होइन यो दृष्टिकोणको पनि सवाल हो जति पढायो उति नै मुर्ख पनि भएको पाइन्छ । मानिसमा अराजकता व्यक्तिवादको हिंसा बढ्दो छ । निसन्तान हुनु महिलाको मात्र दोष सम्झने र दोश्रो विवाह गर्ने पुरुषहरु हिजो अशिक्षित भएका कारण थियो भने आज शिक्षित पनि अशिक्षित जस्तै बनेर आधा उमेर सम्म सन्तान चाहिदैन हामी खुशी भए पुग्छ भन्ने जब उमेर ढल्कदो अवस्था ४५÷५२ वर्षको पुग्छ त्यो उमेरका पुरुषहरु दोश्रो विवाह गर्छु तँबाट सन्तान नभए पछि मलाई कि त छोडपत्र दे कि त दोश्रो विवाह गर्ने सहमति यस्ता शर्तहरु राख्ने क्रम पनि उत्तिकै छ । एकातिर यस्तो छ भने घरमा श्रीमती हुँदाहुदै थाहै नदिई दोश्रो विवाह गरि महिलामाथि हुने दुव्र्यवहार पनि उत्तिकै छ । यस्ता समस्याहरु शिक्षित व्यक्तिहरु जसका श्रीमती इज्जतका डरले मौन रुपमा यातना सहेर बसेका छन । निसन्तान हुनु महिलाको मात्र दोष होइन कहिले काहिँ पुरुषको कारणले पनि सन्तान नहुन सक्छ । तर यो कुरा बाहिर आयो भने आफ्नो पुरुसत्वमा प्रश्न उठ्ने र आत्म सम्मानमा ठेस लाग्ने डरले यो कुरा लुकाउने प्रयास गर्ने गर्दछन् । उनीहरु शिक्षित भएको यतिबेला कुनै अर्थ रहदैन । पारिवारिक दबाबकै कारण परिवारलाई सम्झाउन असफल हुन्छन किनकी विवाह गर्नु भनेको सन्तान जन्माउनका लागि मात्र नभई सुखदुखमा जीवनभर साथ निभाउने भनेर गरिने । यहाँ त सन्तान नजन्मेकैका कारण समाधानको विकल्प खोज्नुको सट्टा दोश्रो विवाह गर्न तयार हुन्छन् । यो समस्या आजको होइन धेरै वर्ष पहिले देखिको हो । विकल्पका रुपमा टेस्टयुब बेबी जन्माउने एउटा विकल्प हो भने अर्काे विकल्प जो अनाथ जसका आमा बाबु छैनन ति बालबालिकालाई स्वीकार गर्न नसक्नु । धनि परिवारका लागि त विकल्पका रुपमा टेस्टयुब बेबी जन्माउने तर गरीब परिवार जसका लागि यो अति महङ्गो प्रविधि पनि हो । यहाँनिर मलाई लागेको हामी एक पटक सोचौं त ती महिला तपाई हाम्रै दिदी बहिनी भएको भए कस्तो पिडाको अनुभुति हुने थियो होला तर भाउजु बुहारीका लागि नन्द अमाजुले खेल्नु पर्ने भुमिकामा महिलाले पनि महिलका समस्यालाई बुझ्न जरुरी हुन्छ । अहिले बनेको मस्यौदा संविधानमा यो सम्बन्धमा मौन छ । मुलुकी ऐनमा कारण सहित दोश्रो बिबाह सम्बन्धि ब्यबस्था गरेको छ । यसैको उपज हो मस्यौदा सुझाब संकलनमा महिलाले पनि दोश्रो विवाह गरी पहिलो पति सँगै बस्न पाउनु पर्ने माग राखेको कारण ।
साँच्चै भन्नुपर्दा पुरुष विना महिला अधुरो र महिला विना पुरुष अधुरो नै हुन्छ । हामी आजको २१ औं शताब्दीमा आइपुग्दा धेरै परिवर्तन भएको छ आशा छ यी विषयमा पनि पक्कै परिवर्तन आउने छ। यसका लागि महिला र पुरुष दुबैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेलिदिनु भयो भने हाम्रो समाज र राम्रो समाज बन्नेछ ।
No comments:
Post a Comment