Sunday, August 30, 2015

मौलिक सस्कृति र सभ्य तीजका लागि सरोकारवालाहरुको भुमिका

मौलिक सस्कृति र सभ्य तीजका लागि सरोकारवालाहरुको भुमिका
पृष्ठभुमि
नेपालका मौलिक पर्वमध्ये तीज पनि एक हो । जसलाई हरितालिका पनि भनिन्छ । सुरुमा हिन्दु धर्माबलम्बीहरुका मान्ने गरिएको तीज अहिले सबैकालागि रमाइलो पर्व बन्न पुगेको छ । वैदिक धर्मशास्त्रअनुसार तीज शौभ्याग्य र सम्वृद्धिकालागि धार्मिक परम्पराअनुसार विवाहित महिलाहरुले शीवपार्वतीको पूजाआजा गर्ने भाद्र शुक्ल तृतियाको दिन हो । जसमा विवाहित हिन्दुनारीहरु मातीघरमा गएर अघिल्लो दिन दर खान्छन् र अर्कोदिन नीराहार व्रत बसी शिवपार्वतीको पूजा गर्छन् । धार्मिक ग्रन्थहरु अनुसार हिमालयले आफ्नी छोरी पार्वतीको विवाह विष्णुसंग गरिदिन खोजेपछि मन नपरेको वर विष्णुबाट छुटकारा पाउन र मन परेको शिवजीलाई वरका रुपमा पाउन भागेर जंगलमा गई शिवको पूजाआजा गरिन् । यसरी १०० वर्षसम्म तपस्या गर्दापनि फल नपाएपछि शिवलिड्.ग स्थापना गरी निराहार व्रत बसेको र अन्त्यमा शिवजी प्रकट भई आर्शिवाद दिएपछि उनीहरुको विवाह सम्भव भएको थियो । सो दिन भाद्र तृतीया परेकाले सो तीथीलाई तीजका  रुपमा मनाउन थालिएको उल्लेख छ ।परम्पराकालमा तीजको व्रत श्रीमान्श्रीमतीले एकले अर्काको दिर्घायुकालागि गर्ने गरेको उल्लेख भएपनि यसको ठोस प्रमाण भने भेटिएको छैन । चामलमा घीउ राखेर पकाएको भात, तामा र बोडीको तरकारी, खीर, अचार लगायतका कुरा दरमा खाइन्छ । विशेषतः  विवाहगरी घर गएका छोरीचेली माइतीघरमा बोलाएर मीठो मीठो खुवाउने र चेलीहरुले पनि आफूले भोगेका दुख, सुख, खुसी, पीडा लगायतलाई माइतीघरका  दिदीबैनी संगीसाथीसित गीत बनाएर पोख्ने र वर्षदिनको दुःख बिर्सने र नया वर्षकालागि योजना बनाउने तीजको रमझम कृष्णअष्टमीबाट सुरु भएर ऋष्पिञ्चमीको दिन सप्तऋषिको पूजा गरेर सकिन्छ । 

तीजको रमाइलो पाटो 
भाद्र तृतीयाका दिन व्रत बसेका व्रतालु महिलाहरु जम्मा भएर श्रीमान्को दीर्घायुको कामना तथा सुयोग्य वर प्राप्तिका निम्ती निराहार व्रत बसी शिवपार्वतीको पूजा गरेपछि शिवपार्वतीलाई खुसीपार्न भजन कृतन गाए र रमाइलोकोलागि नाचे  । यसबाट क्रमश पराई घरमा भोगेका सुखदुःख, विरोध र समर्थनका आवाज पनि  तीजमा गीत गाउने प्रचलन भएको मान्यता छ । जसमा लोकगीत अन्तरगत पर्ने भाका समावेश हुन्छन् । यसैले लोकगीतको उद्गमस्थल गण्डकीसंगै लुम्बिनी र धौलागीरी अञ्चलमा बढी गाइन्छ । अहिलेजस्तो सञ्चारको साधन नभएका बेला परेवा र कागलाई सञ्चारको माध्ययम बनाएर पनि तीजका गीत गाउने गर्थे । 
आगनीको डिलबसी काली कौवा काका
केकेमा समाचार ल्यायो बरीलै 
एकुमा समाचार कागजको चिर्कटो 
दोसरो समाचार तिम्लाई लिन हो 
समाचारको अभाव  तथा माइतीको सम्झनाले आत्तिएका चेलीले बटुवालाई देख्दा पनि माइती नै हो कि भनी बोलाउने गरेका झझल्का पनि तीजभाकामा समावेश थिए । 
त्यै पारी आउने को हौ 
हामरा बाबै हौकि तै बसी जाउन 
हामरा बाबै हौ भने खैरी खसी काटौला
झिनुवाका  चामल साटौला बसी जाउन । 
जसतसो पतिको घरबाट माइत जान छुट्टी पाएका तर एक्लै जान लागेका अवला नारीहरुले वर्षामा बढेका नदी पार गर्न नसकेका र पार गराउन सहयोग माग्दा पाएको सास्तीलाई पनि गीतमा पोख्ने गर्थे । 
घाटमा बसेका घटुवारे दाजै 
हामीलाई तारिदेउन डुंगीया ।
हामरो सिनदुर पहिरने भए 
हामीले तारिदिउला डुंगीया ।
जसोतसो माइतघरमा पुगेका चेलीले टाढाको बाटो आउदा जादाको दुःखलाई समेटेर पनि आफ्नो दुःख र विरोधका स्वर गीत बनाएर गाउथे । 
हामरा बाबाकी म यौटी छोरी 
दिनपनि दिनुभो नेपाल पारी 
जानलाई छ महिना आउन छ महिना
बरिषै दिनको बाटो बरिलै । 
यस्तै श्रीमान्का् करतुत पनि माइतीमा बताउथे चेलीले । 
स्वामी मेरा बाह्रमासे जाडरक्सीका आहार
दुःख पर्दा मेरो कोही छैन साहरा। 

कसैले भने माइती घरमा आउने खुसीले लामो बाटो छोटो भएको पनि बताउंथे । 
आगनीमा ओझेलै पर्यो कदमको छायाले 
दिनभरको बाटो छिनभरमै आए आमाबाको मायाले । 
छैनकतै ठाउं मेरो दुःख पर्दा टेकनी 
ज्ता जान्छु बाधा मात्रै बाटो छेकनी । 
दुःखका कुरा मात्रै होइन तीजमा माइत आएका चेलीले आफ्ना खुसी र साथीसंगका रमणीय क्षण सम्झेर पनि गीत गाउथे । 
सिरै लाउने सिरफूल भिकिदेउ आमा लाउंछुर
मधुवन केवरे धारा आमा नुहाउन जान्छुर ।
तीजमा घरका कामले जान नपाउने चेलीले वा तीजमा माइती नै लिन नआउने चेलीले त्यसैलाई गीतबाट आफ्ना कुरा सुनाउथे । सासुबुहारी, देवरानी जेठानी, नन्द, भाउजु बीचका मेलमीलाप र तित्तता पनि तीज गीतमा गाइन्थे । क्रमश सानो छदा पढ्न नपाएका छोराछोरीबीच विभेद भएका कुरा र समानताकालागि आग्रह गरेका कुरा पनि तीज गीतमा आउन थाले । 
पैतालाको छालाछैन ढिकुराका बाटाले 
अझैपनि पढाएनन् बाबा लाटाले । 
दाजुभाइलाई पढाउन कापीकलम किन्दिनी 
म यौटी छोरीलाई डोको बुन्दिनी । 
जन्मिएको कोख यौटै उस्तै रातो रगत
किन बाबा हामी दुईमा के छ फरक ?
समय परिवेश अनुसार साहित्यमा त्यसको झझल्को पाइन्छ । सोही अनुसार महिलाहरुले आफ्ना कुरा तीजका गीत मार्फत पोखेका पाइन्छन् । जव देशमा परिवर्तन सुरु भयो खासगरी पञ्चायतको विरोध गर्ने समयमा धेरै महिलाले तीजका भाकाबाट चेतना फैलाए र अन्यायको विरोध गरे । अरु समयमा बोल्न नसक्ने महिलाले तीजका बेलामा भने शाशन व्यवस्थाका खराब पक्ष फर्दाफास गरेर नया व्यवस्थाकालागि जनता उचाल्ने कामसमेत गरे । 
यो कानुन कस्तो छ सुन हाम्रा दाजुभाई
जनता सबै मासेर राज गर्नलाई । 
जसले गर्छ खेतीपाती खानु छैन त्यसैलाई 
जसले बुन्छ लुगाफाटो नांगो त्यसैलाई । 
बहुदलीय व्यवस्था आएपछि त्यसको समर्थनमा पनि गीत गाइए । 
हामरा राजालाई क्या राम्रो सुहायो 
टेरलिनको कमीज डबलनेटको कोट ।
अहिले साल बहुदललाई जिताइयो
फेरिपनि दिउला है बहुदललाई भोट । 
मौलीक सस्कृति भएकै कारण तीज गीत समयअनुसार नै आगाडि बढेको पाइन्छ । बहुदलीय व्यवस्था आएपनि महिला पुरुषबीच समानता नआएपछि फेरि प्रगतिशील महिलाहरुले समानता माग गर्दै आफ्नैसंग पनि विरोध गरेका र जवाफ खोजेका गीतहरु तीजका भाकामा बढी आए । आफूहरुको भुमिका नेतृत्व तहमा हुनुपर्ने र महिला पुरुषबीच हरेक कुरामा समानता हुनुपर्ने कुरा बढी गीतमा झल्कीए ।
१,कागजमा बन्यो मात्रै काम कतै दिएन
छोरीलाई अंश दिने भन्ने नियम ।
२, अन्याय र अत्याचार सहने कति सम्मन
लगौं अब बचाउन आत्म सम्मान । 
३, स्वर्ग जान भनेर देवी भाकल लगाउंछौं
घरभित्र पसेर नारी दवाउंछौं । 
समय र परीवेश अनुसार आफ्ना सुखदुःखसंगै समाजमा चेतना फैलाउने माध्ययममका रुपमा तीज गीत विस्तार हुदै जादा जनआन्दोलन पछिका गीतमा भने स्पष्ट दुई धार देखियो । एक व्यवसायीक धार अर्को उश्रृंखलता । तीजगीतको  स्थान क्रमश प्रचारात्मक व्यवसायीकतातिर गयो । व्यक्तिपच्छिे जुराएर गाउने नाच्ने तीज गीत सिमित व्यक्तिले रच्ने र त्यसमा सिमित व्यक्तिले गाउने, अभिनय गर्ने केवल छायांकनमा सिमित छ । 
व्यवसायीकताभित्र पनि मौलीकता छोएका केही उदाहरण यी हुन् । 
मोवाइल किन्देउ बुढा बाख्रो बेचेर।
होर बाबुराम नया नेपालमा । 
अधिकांश पछिल्ला तीज गीत भने उश्रृंखलतामै सिमित छन् । महिलामहिलाबीच गाइने रत्यौलीपाराका गीत महिलापुरुषबीच गाउने र उस्तै उश्रृंखल किसिमले नाच्ने प्रचलन विकास हुदै गएको छ । यसले तीजगीतको मौलिकता हराएको छ । 
१,पोइल जान पाम शिव पोइल जान पाम । 
२,तिम्ले राम्रो नाच्ने कि मैले राम्रो नाच्नी 
बाजी ठोकम आउ मैया बाजी ठोकम आऊ । 
३,सोलमारीमा गइन्च टुच्चा लाइन्छ । 
४, भैसी साटेझै बुढी साट्न मिल्नेभए 
दुइचार लाख थपेर साट्थे मैले तलाई 
सञ्चारमाध्ययमको संख्या बढ्दै जादा र इन्टरनेटको सहज पहुंचले कलाकारले तयार पारेका तीजका गीत सजीलै जनमानसमा पुग्ने गरेका छन् । विडम्बना ती गीतमा तीजको नत लय नत भाका नत मौलिकता हुदा तीजगीत भनेकै के हुन् भन्ने नया पुस्ताले विर्सने हुन् कि भन्ने चिन्ता थपिएको छ । तीजका भनेर गाइएका यी गीत सभ्य घरमा सपरिवार बसेर हेर्न नसकिने खालका छन् । अश्लिलतामात्रै देखाइएका यी गीतका कारण बरु समाजले नराम्रो सिको गर्ने डर छ । 
१, छमछम नाचेर देखाउंछु संसारलाई । 
२, चोरी खान पल्केको ढाडे बिरालो । 
यस्तो लोकप्रीयताका नाममा गीतकार र कलाकारहरु अहिले अश्लीलता र उश्रृखलतामा रमेका छन् । यसैले रमाइलो सुखदुख र विकृति विसंगतिको विरोधमा गाइने तीज गीत मनोरञ्जनका नाममा उश्रृंखलतामा मात्रै सिमित हुदा पनि चेतनाप्रवाहका लागि खोलीएका सञ्चारमाध्ययमबाट निर्वाधरुपमा बजाइनु अर्को विडम्बना हो । 
तीजगीतसंगै अहिले तीज पर्वको पनि भौलिकता र सभ्यता हराएको छ ।  भड्कीलो र उत्ताउलो बनेको छ । दिदीबैनी र माइती मिलेर खाने दर रेष्टुरामा खान थालिएको छ । महिनादिनअघिबाट होटल रेष्टुरेष्टमा भड्कीला लुगा र गहना लगाएर जमघट हुने र दर खादै हिड्दा सामान्य नागरिक र दुःखी गरीवले तीज मनाउन छोड्ने अवस्था आएको छ । सम्पन्न महिलामा आएको  यो प्रतिश्प्रर्धाले तीजको मौलिकता र सभ्यताले झापड हानेको छ । 
तीजको मौलिकता र सभ्यता बचाउन सरोकारवालाको भुमिका 
महिलालाई केन्द्रभागमा राखेर मनाउने यो पर्वको आफ्नै मौलिकता र सस्कृति छ । तीज गीत मौलिकता र सस्कृति बोकेका मात्रै हुने भएकाले गीतकार, गायक र अभिनयकर्ताले तीजको  वास्तविक मर्म बिर्सेर काम गर्नु हुदैन । आधुनिक वाद्यवाधनको सट्टा मौलिकतालाई नै स्थान दिनु उचीत हुन्छ । कलाकारले गीत निकालीहाले त्यसलाई बजाएर सञ्चारमाध्ययमले पश्रय दिनु हुदैन निरुत्साहित गर्नुपर्छ । सञ्चारमाध्ययमले नबजाउने हो भने यस्ता गीत निकाल्न कम हुनेछ । महिलासम्बद्ध संघसस्था जसले महिलालाई केवल मनोरञ्जनको साधन र यौन लिलामा रमाउने महिलाका रुपमा उभ्याइएका गीतनाचगान बजारमा देखाउदा चुप लाग्नु साटो विरोध गर्नुपर्छ । रोक्न पहल गर्नुपर्छ । साहित्य र सस्कृति देशको गहना हो साहित्यकार पनि यो मामिलामा चुप लाग्नु हुदैन । पत्रकार जसका हातमा कलम छ । तीजको मौलिकता बिग्रन नदिन लेख्न र जनतालाई सचेत पार्न आवश्यक छ । यो काम तीज गीतमा मात्रै होइन तीज मनाउने मामिलामा पनि आवश्यक छ । तीजको बहानामा महंगा लुगा र गरगहनामा सजीएर धेरैअघिदेखि होटल रेष्टरेन्टमा जाने र डिस्को नाच्ने परम्परा हटाउनु पर्छ । तीज केहीकालागि होइन सबैकालागि बनाउन सरोकारवाला जुट्नुपर्छ । 
निश्कर्ष 
तीज हिन्दु नारीले धार्मिक रुपमा मनाएपनि पछिल्लो समयमा यो अधिकांश नेपालीको नाचगानको रमाइलो पर्व बनेको छ । महिला स्वतन्त्रता र अधिकारको पर्व बनेको छ । इतिहासदेखि केलाएर यसलाई महिला स्वतन्त्रता र अधिकारकै रुपमा रहन दिनुपर्छ । छाडा सस्कृतिको सट्टा चेतनाप्रवाह र समसामयीक विषयलाई समेटेर तीज गीतका एल्बम बनाइनुपर्छ । तीज गीतको बहानामा उश्रृंखल रत्यौली र दोहोरीलाई पश्रय दिनुहुदैन । कसैले छाडापन प्रस्तुत गरे कारबाहीको दायरामा ल्याउन सरोकारवाला जुट्नुपर्छ ।  महिलाले स्वतन्त्रपुर्वक सके माइतीघरमा नसके आफन्तमा गएर मीठो खान पाउने, राम्रो लगाउन पाउने र मनमा भएका सबै विरोध र खुसीका भावना गीत बनाएर स्वतन्त्रपुर्वक पोख्न पाउने तीज महिलालाई नै अश्लिल बनाएर प्रस्तुत गर्ने पर्व हुनु हुदैन । राम्रोका नाममा सार्वजनीक स्थलमा भड्कीला लुगा र गहना प्रद्धर्शन गर्ने परीपाटी पनि रोकेर सभ्य र सामान्य तीज मनाउन थाल्नु अहिलेको आवश्यकता हो । 
(सञ्चारिका समूह लुम्बिनी र बुटवल उपमहानगरपालिकाद्धारा आयोजित मौलिक सस्कृति र सभ्य तीजका लागि सरोकारवालाहरुको भुमिका विषयक कार्यक्रममा गंगा खनालद्धारा प्रस्तुत कार्यपत्र)

No comments:

Post a Comment