Saturday, October 13, 2018

अहो ! म कति स्वार्थी रहेछु ।


अहो ! म कति स्वार्थी रहेछु । आमा बिरामी भएको दिन गन्दै छु । आमाको सेवा गर्ने भनेर कहलिएकी छु । थाहै नभएको जस्तो गरि बुझेर पनि नबुझेको नाटक गर्दैछु । हो त आमाको गर्भमा  दस महिनासम्म कति पिडा भयो हाेला । त्यसपछिकाे आमाले प्रसव पिडा सात दिन सम्म जन्म र मृत्यु सँग युद्ध गरी अस्पतालमा कसरी विताउनु भयाे । त्यतिबेलाकाे पिडा अामाले सुनाउँदा मलाइ अामाकाे अनुहारमा पिडा प्रष्ट देख्न र अनुमान गन सकिन्थ्याे । जब म जन्मेको देख्दा सारा पीडा भुल्नु भयो ।  अामा सँगै अर्काे बेडमा एकजना महिला पनि प्रसव पिडाले छट्पटाउनु भएकाे थियाे रे । उनका ३ भाइ छाेरा रहेछन् यसपाली छाेरी जन्मिन्छ कि भन्ने ठुलाे अाशा रहेछ । तर फेरि पनि छाेरा नै जन्मे पछि अामालाइ साेधेछन् । कति छन् छाेरी भनेर अामाले एउटा छाेरी छ भन्नुभएछ । त्यसपछि उनीहरुले अहिले त छाेरा जन्मियाे हजुरलाइ भनेर भन्दा हाेइन मेराे छाेरी नै हाे भनेपछि नर्सहरुले भनेछन दिदी यति विरामी हुँदा पनि अाफ्नाे सन्तान के हाे भनेर हेर्नु भएछ । फेरि पनि फकाउँदै छोरासँग छोरी साटौ भनेर भन्दा छाेराछाेरी दुबै बराबर हाे भनेर लैंगिक विभेदका विरूद्ध सम्झाउनु भयो । त्याे समयमा मेरी अामाले पढ्न पाउनुभएन तर विवेकशील नारी भन्न चुक्न हुँदैन । र मलाई मेरी छोरी नै दिनु छोरा चाहिदैन भन्नुभयो । यसरी मलाइ अस्पतालबाट घर लिएर गएकाे कुरा अामाले  सुनाइरहँदा अामाकाे म प्रतिकाे प्रेमभाव कति थियाे भनेर सहजै अनुमान गर्न सकिन्छ । जब सम्म म सानै थिएँ रात दिन केही नभनी हुर्काउनु भयो । म सानाेमा धेरै  विरामी भए त्यस्ता कैयन रात अनिदो बस्नु भयो । खाना खान बसेका समयमा झाडाबान्ता गरेर भाेकै बसेका त्यस्ता कैयन रात अनिदाे रुँदै विताएका कुरा अामाले सुनाउनु हुन्थ्याे ।  माइतबाट पाएकाे पेवा सुनका असर्फी र चाँदीका असर्फी  गहना  पैसा र जग्गा सबै बेचविखन गर्न परेकाे कुरा सुनाउनु हुन्थ्याे । मैले त यसलाइ एकतिर र अर्काे तिर पैसा जाेख्ने हाे भने पनि यसकाे ताैल पुग्दैन भनेर भनिरहनुहुन्थ्याे । त्याे समयमा म विरामी भएर  झाडापखाला र वान्ताले गन्हाएका थाङ्ना र कपडाहरु अामाले घिन नमानी धुनुभयाे । तर आज आमाले खोक्दा आएको खकार र वान्ता सोहर्न मलाई कठिनाइ हुन्छ । जब आमाले दिशापिसाव गर्न शौचालय जान सक्नुभएन ।मलाई त्यहि सफा गर्न कठिनाई भयो । हो त ती दिन जब म बोल्न जान्दिनथे मैले लगाएको पुरै कपडा भिज्ने गरि दिशा पिसाब गरेका कपडा कसरी धुनु भयो होला । म कुनै अनुमान गर्न सक्दिनँ ।तर अहिले आमा बिरामी भएको प्रत्येक पलहरू सेवा गर्न तत्परता देखाएको भएता पनि आमाले गरेको जिम्मेवारी, माया ममता र ती कठिनाइहरूको अगाडि यी सव तुच्छ हुनेछ । तर दुर्भाग्यपूर्ण कुरा म कति स्वार्थी रहेछु । मैले आफुले भोगेका दैनिकी अरूलाई सुनाएर सबैको नजरमा महान बन्ने कोशिस गरेको रहेछु । हो त म कति स्वार्थी रहेछु । आमा मलाई माफ गर्नु । म आफुलाई सुधार्ने प्रयास गर्नेछु । हजुरसँग भएका असल गुणहरूको अनुसरण गर्ने प्रयास गर्नेछु ।मैले हजुरकाे निद्रा र माइतीकाे पेवा फिर्ता गर्न नसके पनि सेवा गर्न निस्वार्थ भावले पक्का सक्ने छु । 

No comments:

Post a Comment