Monday, January 26, 2015

छोराले मात्र होइन छोरीले पनि गर्न हुन्छ

                                                                                                                                   
आज १७ वर्ष पूरा भएछ पिताजीले यस संसारबाट विदा लिएको पनि मिति २०५४ साल पुष १४ गते आमावश्य तिथि सोमबार राती करिब १२ बजे मेरो बुबाले सदाका लागि चीर निन्द्रामा जानु भएको थियो । त्यो भन्दा पहिलेका दिन आमाले नै बुवालाई अस्पतालमा कुरेर बस्नुभएको थियो । आमाको स्वास्थ्य अवस्थाको कारण उच्च रक्तचापले अर्काे असर होला भन्ने सोचेर मामाले आमालाई घर पठाउनु भएछ । र ठुली आमाको छोरा बालकृष्ण दाजुलाई कुरुवा बसाल्नु भएछ । त्यसपछि शुरुवात भएका चुनौतीका दिनहरु हाम्रा लागि एकातिर बुबाको निधन अर्काे तिर जीवन कसरी यापन गर्ने? प्रश्नले मन घोतलिएको थियो । बुबाको देहावसानमा रुने भन्दा पनि आमा र बहिनीलाई कसरी सम्हाल्ने भन्ने चिन्ताले छोएको मन भारी आखाभरि आसु पार्दै आमालाई सम्झाएको आज जस्तै लाग्छ । १३ दिन सम्मको काज किरिया गर्न पनि दिएनन् छोरीलाई भारा लाग्छ । ५ दिनमा नुन खानै पर्ने हामी हिन्दु नेपालीको संस्कार । हामीले पनि त्यसै ग¥यौं । खान त के खान मन लाग्थ्यो र तै पनि खानै पर्ने ।
जब १३ दिनको दिनमा मेरी आमाले हरियो सारी र हरियो ब्लाउज लगाएको देखें मेरो मन अमिलो भयो । पतिको देहावसान पछि महिलाले रातो लगाउन नहुने । तर पत्नीको देहवसान भयो भने १३ दिन पुग्न पाएको छैन विवाहको कुरा शुरुवात हुने गर्दछ । यो नेपाली समाजमा हिन्दु संस्कारकै प्रभाव होला । अन्य बुझ्न सक्ने क्षमता कहा हुनु अबोध बालमनोदशा हामी दिदी बहिनीको । यस्तै २० ÷२५ दिन भएको थियो होला बुबाको मृत्यू भएको आमाले हल्का गुलाबी रंगको ब्लाउज लगाउनु भएको थियो । हामीले छिमेकीको घरबाट दुध किन्ने गर्दथ्यौं । छिमेकी दिदीले दुध राख्नु भन्दै बोलाउनु भयो । आमा त्यही ब्लाउज र बैगन कलरको साडी लगाउनु भएको थियो । जब दुध लिन आमा जानु भयो तब ति छिमेकीले “मेरी आम्मै के गर्नु भएको दिदी ? यो रंगको कपडा लगाउन हुदैन भन्नु भयो । ” आमाले पुलुक्क म तिर हेर्नु भयो । म मौन थिए । केही बोल्न सकिन । मनमनै अठोट गरे म जसरी भए पनि आमालाई रातो कपडा लगाउने बनाउने छु । समाज परिवर्तन गर्नका लागि आफै परिवर्तन हुनु आवश्यक हुन्छ । त्यो समय बोलिन अहिले आमा रातो रंगका कपडा धेरै लगाउनु हुन्छ । त्यो रातो कपडा लगाउने सोच बनाउन मलाई १० वर्ष लाग्यो । हामी नेपाली धर्म र संस्कृतीको जर्गेना गर्ने नाममा महिला माथि अनावश्यक अवरोध सिर्जना गर्न भन्दा धार्मिक परम्परा लाई पनि परिमार्जन गर्न जरुरी हुन्छ । एक दिनको कुरा हो आमाले बुबालाई सपनामा देख्नु भएछ । आमाले मलाई भन्नुभयो बुबाको श्राद्ध गर्न पाए हुन्थ्यो । मैले गर्न पनि नहुने अनि छोरीले पनि गर्न नहुने भन्नुभयो । त्यस पछि मैले २०६५ सालमा एक जना पण्डित सँग यसबारे सोधे उहाँ आधुनिक खालको हुनुहुन्थ्यो । उहाँले भन्नु भयो छोरा छोरी बराबरी हुन्छ किन नहुने त्यस पछि हामी आमा छोरीले श्राद्ध ग¥यौं त्यो पनि पुरुषले गर्ने जस्तै गरी र त्यसलाई निरन्तरता दिदैं आएका छौं ।
आज अफिस जाने तयारी गर्दै थिए अलि हतार थियो । मैले खाना खादै थिए । हाम्रो घरमा दुइजना पाहुना आए । बहिनीले चिया बनाएर दिइन । म खाना खाएर भित्र पोशाक लगाउदै थिए । तिनीहरुले भने हजुरका त छोरा छैनन् है? आमाले छैनन् भन्नुभयो । अरु त ठिकै थियो मर्दा काँधमा हाल्ने र किरिया गर्ने भएनन भन्ने मात्रै हो । त्यस पछि यति मलाई सारै रिस उठ्यो बोल्न पनि सकिन । आजैको दिन बुबाको मृत्यु भएको दिन परेकोले बाबाको याद आयो । बुबा नभए पनि मैले मेरो कर्तव्य पुरा गरेकी छु भने भोलि पनि मेरो आमाको देहवशान भयो सम्पुर्ण कर्महरु मैले नै गर्ने छु । छोरा ले मात्र होइन छोरीले पनि यो काम गर्न हुन्छ भनेर उनीहरु सँग बहस गरेर होइन काम गरेर देखाउने छु । यस्तो सोच भएका मानिसहरुलाई सम्झाएर होइन व्यवहारले सिकाउन जरुरी हुन्छ ।


मिति २०७१÷०९÷१४

No comments:

Post a Comment